वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ ।
जननायक बिपी कोइराला स्मृति ट्रष्टले मंगलबार एक कार्यक्रमको आयोजनामा रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो । यसैगरी रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएकोे छ । दुवै सम्मान नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रदान गरेका हुन् ।
कार्यक्रममा काङ्ग्रेस नेता कोइरालाले बिपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बिपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न काङ्ग्रेस खरोरुपमा उत्रनुपर्ने उल्लेख गरे । गणतन्त्र र सङ्घीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताए ।
सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उनले यसमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले बिपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर सोहीअनुसार अघि बढेको बताए । राजनीतिक विश्लेषक डा हरि शर्माले बिपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई काङ्ग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत काङ्ग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार बैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बिपीले मुलुकका लागि गरेकाे राजनीतिक र साहित्यिक योगदानको चर्चा गरेका थिए