मुलुकका कार्यकारी प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अबस्थालाई लिएर विभिन्न चर्चा-परिचर्चा र अनेक टिप्पणी भइरहेका छन् ।
स्पष्ट बहुमतका प्रधानमन्त्री ओली सरकार टिकाउन जति बलवान (शक्तिशाली) छन्, उनको स्वास्थ्य भने कैयौं गुणा नाजुक छ। १२ वर्षअघि (२०६४ सालमा) दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यतिबेला स्वास्थ्योपचारका लागि सिंगापुरमा छन्। तर मुलुकका कार्यकारी प्रमुखको स्वास्थ्यका बारेमा सबैलाई गुमराहमा राखिएको छ। यथार्थ सूचना प्रवाह गरिएको छैन। मुलुकको कार्यकारी प्रधानमन्त्रीको स्वास्थ्य गुपचुप राख्नुले विभिन्न संसयसँगै अड्कल र आशंका उब्जिएको छ। उनको स्वास्थ्यमाथि सार्वजनिक भएका कतिपय प्रतिक्रिया संवेदनाहीन देखिए भने कतिपय सहानुभूति। सामाजिक सञ्जालसँगै सञ्चारमाध्यममा पनि उनको स्वास्थ्यबारे चासो उठिरहँदा उनको सचिवालय भने मौन छ।
उसो त भोलि (शुक्रबार) उपचार सकेर स्वदेश फर्किने सेड्युल रहे पनि अस्ति (मंगलबार) नेकपा महासचिव विष्णु पौडेल र हिजो (बुधबार) नेकपाकै अर्का नेता वामदेव गौतम सिंगापुर प्रस्थान गरिनुलाई पनि अर्थपूर्ण रुपमा मानिएको छ।
पछिल्लोपटक भदौ ५ मा उपचारकै लागि पत्नी राधिका, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश वज्राचार्यसहित ओली सिंगापुर प्रस्थान गरेका थिए। त्यहाँ उनको उपचार नेसनल युनिभर्सिटी अस्पतालमा गरिएको छ।
यसअघि साउन १८ मा पनि सोही अस्पताल पुगेका ओली स्वदेश फर्किएका थिए। त्यसबेला फर्किंदा र अहिलेसम्म पनि उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी गरिए पनि सरकारी तवरबाट स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी गराइएको छैन। ओली साउन २७ मा स्वदेश फर्किंदा बिमानस्थलमा पुगेका सञ्चारकर्मीलाइ उनको स्वास्थ्य अबस्थाबारे केही पनि जानकारी दिइएन। यसरी चौतर्फी आलोचना भइरहेकै बखत दोस्रोपटक सिंगापुर जाने दिनमा निजी चिकित्सक दिव्या शाहले एक विज्ञप्ति जारी गरिन्। जुन औपचारिकता निभाउनेभन्दा फरक थिएन। उनको विज्ञप्तिमा प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढेकाले त्यसलाई शरीरबाट निकाल्ने र मिर्गौलाको क्षमता बढाउने उपचार प्रक्रियाका लागि जान थालेको उल्लेख थियो। त्यसयता उनको पटक-पटक प्लाज्माफेरेसिस गरिएको छ।
साउन ३१ मा गृहनगर झापा पुगेर प्रधानमन्त्री ओलीले नेकपा कार्यकर्तासँगको भेटमा ‘डाक्टरले सबै अंग ठीक छन्, २०/२५ वर्ष केही हुँदैन भनेको’ बताएका थिए। आफूलाई केही नभएको अभिव्यक्ति दिइरहँदा उपचारका लागि दोस्रोपटक सिङ्गापुर जाने तयारी भइरहेको खबर आएपछि ओलीको स्वास्थ्यबारे सार्वजनिक वृत्तमा आशंका बढेको थियो।
‘आराम र स्वच्छ खानपान जरूरी’
ओली मिर्गौला प्रत्यारोपणयताका १२ वर्ष लगातार राजनीतिक दौडधुपमै छन्। स्वास्थ्यप्रतिको बेवास्ताकै कारण उनको स्वास्थ्य अवस्था गिर्दो छ। उनलाई कम्तिमा पनि दैनिक ६ घण्टा आराम र सन्तुलित भोजन आवश्यक पर्ने स्वयं चिकित्सकहरुकै सुझाव छ।
उसो त हिजो (बुधबार) मात्रै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई विश्राम दिन सत्तारुढ नेकपासँग आग्रह नै गरे। संसदको विशेष समयमा थापाले उपचाररत प्रधानमन्त्रीको स्वास्थलाभको कामना गरे। उनले प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझ पनि बढेको भन्दै अब प्रधानमन्त्रीलाई आराम दिनुपर्ने सुझाए। ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन। तर इच्छाशक्ति मात्र सबै कुरा होइन। शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ,’ कांग्रेस सांसद थापाले भनेका थिए। सत्तारुढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्तिहरु पनि टन्नै भएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्दै प्रतिप्रश्न गरे।
नेकपाका सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको भन्दै कांग्रेस सांसद थापाले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस्। आराम गर्नुस्। विश्राम लिनुस् ।’
सत्ताका बलवान, स्वास्थ्यमा शक्तिहीन
ओली सत्ताका बलवान देखिएका छन्। ५ वर्ष सरकार चलाउने म्यान्डेडसहित प्रधानमन्त्री बनेका ओलीको राजनीतिक उतारचढाव यथास्थितिमा रहे उनै मुलुकको कार्यकारी हैसियतमा रहिरहने पक्का छ। यसरी सत्ताका बलवान मानिएका ओली स्वास्थ्यमा भने शक्तिहीन देखिएका छन्। उनको स्वास्थ्य सुध्रिनुको साटो झन् खस्कँदै गएको प्रतित हुन्छ।
किन राखिँदै छ स्वास्थ्य अवस्था गुपचुप ?
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था गुपचुपमै राखिएको छ। उनको स्वास्थ्यबारे विभिन्न शंका-उपशंका उब्जिए पनि वास्तविकता बाहिर ल्याइएको छैन। स्वास्थ्यबारे उनी नजिककालाई थाहा भए पनि समग्र मुलुक अनभिज्ञ छ। मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्था यसरी गुमराहमा नराखी सार्वजनिक गरिदिने हो भने ओलीप्रति सहानुभूति बढ्ने पक्का छ। अब उनले सहानुभूति पाउने कि यसै गरी गुमराहमै राखेर मुलुकको कार्यकारी बागडोरलाई अघि बढाइरहने भन्नेमा उनका सल्लाहकारहरुले पनि बेलैमा सोच्ने कि!