राजधानीका विभिन्न अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप बढेको छ। बिरामीले घण्टाैं कुरेपछि मात्र उपचारको पालो पाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ज्वरो क्लिनिकमा बुधबार बिरामीको चाप देखिन्थ्यो। त्यहाँ पुगेका धेरैजसोमा डेंगी ज्वरोको लक्षण भएको अस्पतालले जनाएको छ।
अन्य दिनको तुलनामा बुधबार झन् धेरै बिरामी आएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डले जानकारी दिए। उनका अनुसार डेंगीको निःशुल्क उपचार हुने भएकाले ज्वरो आएका सबै बिरामीले यही अस्पताल छानेका हुन्। ‘अन्य अस्पतालबाट पनि यही अस्पताल रेफर गरेर पठाएका छन्,’ उनले भने। डेंगी ज्वरोले गम्भीर बनेका बिरामीलाई अस्पतालले छुट्टै वार्डमा भर्ना गरी उपचार गरिरहेको डा. पाण्डेले जानकारी दिए।
डेंगीका कारण फियो बढेका, पेट दुखेका, खाना खान नसकेका र रक्तश्राव भएका बिरामीलाई मात्र भर्ना गरिएको छ। थप संक्रमण नहोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार गरिएको छ। अस्पताल अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार बिरामीको चापका कारण आइतबारयता चिकित्सकले एकछिन पनि फुर्सद पाएका छैनन्। उपचारमा आउने धेरैजसोमा डेंगीको लक्षण पाइएको र सोही अनुसार उपचार तथा सुझाव दिएर पठाउने गरिएको उनले बताए।
गम्भीर अवस्थामा पुगेका बिरमीलाई भने भर्ना गरिएको छ। अस्पतालमा बुधबार २ सय ५० जना डेंगी ज्वरोको बिरामी आएको जानकारी उनले दिए। डल्लु, टेकु, त्रिपुरेश्वर, नयाँ बजार, खुसीबुँ, लोकन्थली, पेप्सीकोला, क्षेत्रपाटी, स्वयम्भूलगायत क्षेत्रबाट बिरामी ज्वरोको सिकायत लिएर आएको अस्पतालले जनाएको छ।
त्यसैगरी हेल्पिङ ह्यान्डस अस्पतालमा डेंगीका पाँच बिरामी भर्ना भएको अस्पतालले जनाएको छ। भर्ना गर्नुनपर्ने अवस्थाका बिरामीलाई भने आवश्यक परामर्श लिएर फर्केका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल, मिनभवनलगायतले पनि डेंगीका बिरामी उपचारका लागि आएको जनाएका छन्। त्रिवि शिक्षण अस्पतालमा दैनिक डेंगीको सिकायत लिएर १०÷१५ जना बहिरंग विभागमा आउने गरेको सो अस्पतालले जनाएको छ। सिभिल अस्पतालमा पनि यस्ता बिरामी दैनिक १५ जनाको हाराहारीमा पुग्ने गरेका छन्।
देशभरका २ हजार ४ सय ७६ जनामा डेंगी प्रमाणित भइसकेको छ। यो बुधबारसम्मको तथ्यांक हो। डेंगी संक्रमितको यकिन तथ्यांक भने आउन सकेको छैन। काठमाडौंस्थित सरकारीबाहेक निजी अस्पतालमा पनि डेंगीका बिरामीले उपचार गराएका छन्।
डेंगी संक्रमणको जोखिम थप दुई महिना रहेकाले सबैलाई सतर्क हुन चिकित्सकले आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोला डेंगी सार्ने लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे तथा त्यसको अण्डा नष्ट गर्ने अभियानमा जुट्न सुझाव दिन्छन्। उनका अनुसार अझै दुई महिना डेंगी सार्ने लामखुट्टेका लागि अनुकूल मौसम हुने भएकाले जोखिम छ। नागरिक दैनिकमा खबर छ।