बैंकको रकम हिनामिना गरेको अभियोग लागेका कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री ५ लाख धरौटी बुझाएर छुटेका छन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले खत्रीसँग पाँच लाख धरौटी माग गरेको प्रवक्ता मोहन सुवेदीले जानकारी दिए । फरार सूचीमा रहेका उनी बुधबार आफै अदालत पुगरेर आत्मसमर्पण गरेका हुन् । अदालतले बयान लिएपछि थुनछेक बहस भएको थियो ।
किर्ते बैंक ग्यारेन्टी गरी कृषि विकास बैंकको रकम हिनामिना गरेको अभियोगमा गत साउन २७ मा बैंकले दायर गरेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले खत्रीलाई तीन दिन भित्र अदालतमा पेस गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएका थिए ।
मन्त्रीलगायत पाँचजनाले दुईपटकमा एक करोड १० लाख ८० हजार रुपैयाँबराबरको किर्ते बैंक ग्यारेन्टी पेस गरी बैंकलाई हानि पुर्याएको दाबी छ ।