बाराही चोकको स्ट्रिट नम्बर १५ मा उभिएर फेवातालतिर हेर्दा आँखैमा ठोकिन्छ कोइला रेस्टुरेन्ट। गेटबाट भित्र पस्दा नै फरक अनुभूति हुन्छ। भित्र दिउँसो खासै फरक नभए पनि गोधुली साँझपछि यहाँको वातावरण अन्यत्रको भन्दा फरक हुन्छ, अति नै मधुर उज्यालो। टेबलका ग्राहकले एक–अर्कालाई बाधा नपारेको अनुभव गर्छन्।
कोइलाको मुख्य विशेषता भनेकै हुक्का हो। जहाँ हुक्काका पारखी घन्टौंसम्म बसेका हुन्छन्। हुक्कासँगै रेस्टुरेन्टले कोइलाको वास्तविक अनुभूति गराइदिन्छ, अर्डरअनुसार टेबलमा कोइलासहित परिकार आइपुग्छ। ग्राहकलाई यसरी फरक स्वादको अनुभूति गराएकी छन् सन्चालिका पोखराकी अञ्जु केसीले।
लेखक एकजना साथीलाई भेट्न साउन अन्तिम साता कोइला पस्दा उनै सञ्चालिका अञ्जु हुक्का तानिरहेकी थिइन्। लाग्थ्यो हुक्काकी पारखी उनी ग्राहकमध्येकी एक हुन्। पछि कुरा गर्दा थाहा भयो उनी त ग्राहक नभएर रेस्टुरेन्ट सञ्चालिका रहिछन्। त्यसपछि उनले सुनाईन् कोइलाको नालीबेली।
कसरी सुरु भयो कोइला?
बाबुआमा घर बाहिर भएकाले अन्जु हजुरबासँगै बस्थिन्। १३ वर्षमा ९ कक्षाको पढाइ छाडेर उनी दुबई हानिएकी थिइन्। जहाँ गएर पार्लरमा २ महिना जति काम गरिन्। खासमा उनले पढाइ छाड्नुको रहस्य यसरी खोलिन् ‘कक्षामा मेरो एकजना अति नै मिल्ने साथी थिइन्। सानै छँदा आमा बित्नु भएकाले उनले पढाईलाई निरन्तरता दिन सकिनन्। जसले गर्दा उसलाई छाड्न नसकेर म पनि हिडेकी हुँ।’
पढाइ छाडेर बाहिरी मुलुक जाँदा मनमा अनेक कुरा नखेलेका होइनन्। ‘समाजले के भन्ला भन्ने डरले मुटु थरथर भएको थियो,’ विगत सम्झदै अन्जुले भनिन्। हुन पनि त्यतिबेला विदेश जाने महिलाप्रतिको समाजको हेराइ सकारात्मक थिएन। तर पनि मुटु दह्रो बनाएर दुबई जाने निर्णयमा पुगिन् उनी। दुनियाँले के भन्ला भन्ने वास्ता गरिनन्। भन्छिन् ‘जसले जे भनोस् आफू गलत बाटोमा लाग्ने होइन।’
दुबईमा दुई महिना काम गरेपछि अरुको काम गरेर भएन आफैं केही गनुपर्छ भन्ने सोच उनमा आयो। त्यसपछि नेपाल फर्किइन्।
हुन त सानोमा डाक्टर बन्ने सपना थियो। तर सोचेको कुरा सबै कहाँ पूरा हुन्छ र? त्यसमाथि बीचमै पढाइ छाडेर हिडेपछि उनको बाटो बदलियो। नेपाल फर्केर ३ वर्षअघि कोइला रेस्टुरेन्ट सुरु गरिन्। उनी एक्लैले हेरेकी छन् यसलाई। जसमा ३ करोड लगानी छ र अहिले ५० नेपालीले काम पाएका छन्।
यस्तो रेस्टुरेन्ट नेपालमै पहिलो भएको उनको दाबी छ। यसको प्रमुख विशेषता भनेको हुक्का हो। पोखरा आइपुग्ने जो कोही हुक्काका पारखी यहाँ पुगेकै हुन्छन्। हुक्कासँगै बार्बिक्यू, अरेबियन खानाका लागि पनि प्रख्यात छ, कोइला। एकपटक यहाँ आएर स्वाद चाखेकाहरू अन्यत्र जान खोज्दैनन्। अञ्जु भन्छिन् ‘८० प्रतिशत त हाम्रा नियमित ग्राहक नै छन्।’ स्वदेशीमात्र नभई भारतीय, चिनिया, अरेबियन पनि उनका ग्राहक हुन्।
अञ्जुको भनाइमा हुक्का भन्दैमा सबै एकै किसिमका हुँदैनन्। यसका २०० भिन्न स्वाद छन्। यी सबै स्वाद उनी दुबईबाटै ल्याउने गर्छिन्। स्वादअनुसार एउटा हुक्काको ६०० देखि १५ हजारसम्म पर्दछ।
सामान्यतय २ महिनामा ५० किलो हुक्का चाहिन्छ उनको रेस्टुरेन्टमा आउने ग्राहकका लागि। जुन हुक्का किलोको ३००० सम्म पर्छ। तर कुनै बेला त एक महिनामै सकिन्छ ५० केजी। उनको भनाइमा गत नयाँ वर्षको एक दिनमै डेढसय हुक्का बिक्री भएका थिए।
उनका ग्राहकमध्ये अरेबियनहरू व्यक्तिपिच्छेका हुक्का लिन्छन् भने नेपालीहरू एउटा टेबलमा एउटा हुक्का लिएर बस्ने गर्छन्। एउटा हुक्काले ३ घन्टासम्म तान्न सकिने उनको भनाइ छ।
उनको रेस्टुरेन्टमा आउनेमध्ये १५ प्रतिशत विदेशी छन् भने १५ प्रतिशत काठमाडौंबाट बिहान जहाजमा आएर हुक्काको स्वाद लिएर बेलुका फर्कने पनि छन्। ५० प्रतिशत नियमित ग्राहक भने हप्तामा एक पटकमात्र हुक्का पिउन आउने गर्दछन्।
यो छोटो अवधिमा पैसा भने कमाउन नसकिएको उनले बताइन्। तर पनि ५० जनालाई रोजगारी दिएर तिनको परिवार धान्न सक्ने बनाएकोमा भने उनलाई गर्व छ। यी कामदारका लागि मात्र महिनामा ८ लाख रुपैंयाँ उनले तलब दिनुपर्छ। यसबाहेक सिजनमा ग्राहकको चापले गर्दा २० जनासम्म स्टाफ थप्नुपर्ने उनको भनाइ छ।
उनको रेस्टेरेन्टका सुरुमा स्टोरकिपरका रुपमा जागिर सुरु गरेकालाई म्यानेजरसम्म बनाएकी छन्। यहाँ काम गर्नेले महिनामा २० हजारदेखि ५० हजारसम्म कमाउँछन्। हुक्का बनाउनकै लागि भनेर उनले २ जना स्टाफ राखेकी छन्। मेन्यू हेरेर अरु कसैले उनको रेस्टुरेन्टबाट हुक्का बनाउने कामदारलाई आकर्षक तलबको लोभ देखाएर लगे पनि। तर ती ठाउँमा ग्राहकले खोजेको स्वाद पाउन सकेनन्। जसले गर्दा हुक्का भनेको कोइलाकै हो भन्ने बुझाइ छ।
हुक्काको बजार कतिसम्म बिस्तार भएको छ भने गत डिसेम्बरमा पोखराकै एक विवाह समारोहमा अर्डर आएपछि उनले हुक्का बनाएर पठाएकी थिइन्।
नेपाल बाहिर पनि उनका हुक्का रेस्टुरेन्ट छन्। उनको भनाइमा दुबईका २ वटा हुक्का उनका श्रीमानले हेर्छन् भने चीनमा कामदार राखेर सञ्चालन गरिएको छ। हुन त श्रीमान पनि सुरुमा पोखराकै हुक्का हेर्थे। तर सरकारका मान्छेहरुले अनावश्यक दुःख दिन थालेपछि दुबई गएको उनले बताइन्।
नमिठो अनुभव
विदेशमा काम गर्दाका उनका उल्लेख्य अनुभव छन्। त्यँहाको सरकारले व्यबसाय प्रबद्र्धन गर्ने खालका कानुन बनाएर स्वदेशी होस् या विदेशी, सबैलाई काम गर्ने वातावरण बनाएको छ। तर नेपालमा आफ्नो व्यवसाय गरेर मानिसहरूलाई रोजगारी सिर्जना गर्छु भनेर करोडौंको लगानी गर्दा पनि सरकारले सहयोग गर्नु त कता हो कता उल्टो दुःख दिएको उनको गुनासो छ। दुबईको उनको व्यबसाय सञ्चालनका लागि त्यँहाको सरकारले सस्तो दरमा ऋणसमेत दिने गरेको छ।
तर हामीकहाँ व्यवसायीलाई सरकारले त्यस्तो कुनै सुविधा दिएको छैन। उल्टो कसरी दुःख दिन सकिन्छ भनेर सरकारी अधिकारीहरु मौका पर्खेर बसेको अञ्जुको भोगाइ छ। कतिसम्म भने रेस्टुरेन्टमा बसेर ग्राहक खाना खाइरहेका बेला पोशाकमा आएका प्रहरीले अबेरसम्म खुला गरेको भनेर अनावश्यक दुःख दिने गरेको नमीठो भोगाइ छ अञ्जुको। रेस्टुरेन्टबाट राति १२–१ बजे निस्कदा स्टाफहरूलाई समातेर पनि दुःख दिएको छ प्रहरीले। अर्कातिर म्यूजिक बन्द गर्न लगाउने त छँदैछ। यतिमात्र होइन, उनको रेस्टुरेन्टमा ठूलो बेलन राखिएको थियो। जुन बेलन सबैतिरबाट देखिन्थ्यो। तर महानगरपालिकाले निकाल्न लगायो।
प्रहरीले राति ११ बजेपछि बन्द गर्न दबाब दिन्थ्यो, कतिसम्म भने टेवलमा खाना खाइरहेका ग्राहकलाई पनि उठाउने गथ्र्यो। पैसा खर्च गरेर आनन्द गर्न आएका स्वदेशी, विदेशी पर्यटकलाई यसबाट तनाव भएको ठानेर उनले उच्च अदालत पोखरामा रातभरि खोल्न पाउँ भनी निबेदन दिएकी थिइन्। उच्च अदालत पोखराले चौबीसै घण्टा खुला गर्न अन्तरिम आदेश दिएको छ।
पोखरामा यो मात्र एउटा त्यस्तो रेस्टुरेन्ट हो जसले चौबिसै घन्टा खुल्ने अनुमति पाएको छ। लेकसाइडका अन्य रेस्टुरेन्ट राति १२ बजे बन्द भइसकेका हुन्छन्। तर अदालतको आदेशपछि कोइलालाई बन्द गर्नेपर्ने बाध्यता हटेको छ। यसमा कतिपयले डाहा गरेको उनको भनाइ छ।
अबको योजना
यो रेस्टुरेन्ट उनले एक्लै सञ्चालन गरेकी छन्। तर ग्राहकलाई आफू यो रेस्टुरेन्टको मालिक हुँ भनेर उनी चिनाउन चाहन्नन्। आफू पनि रेस्टुरेन्टको ग्राहकजस्तै देखिन्छिन् उनी। दुःख के हो भनेर राम्रोसँग बुझेकी अञ्जुले कैयौंपटक रेस्टुरेन्ट र बाथरुम सरसफाइमा पनि आपैंm अघि सरेकी हुन्छिन्।
पोखरा लेकसाइडमा ५ वर्षका लागि जग्गा भाडामा लिएर उनले रेस्टुरेन्ट सुरु गरेकी हुन्। ३ वर्ष पूरा भइसक्यो सुरु गरेको। अब दुई वर्षमात्र बाँकी छ। आफै जग्गा किनेर रेस्टुरेन्ट चलाउने अञ्जुको योजना छ। तर आफूजस्ता व्यवसायीलाई सरकारले मद्दत गर्नु पर्नेमा उल्टो अनावश्यक दुःख दिने गरेको अञ्जुको भोगाइ छ।