जिप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ। राेल्पाकाे सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पुर्याएर फर्कंदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो।
दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए। शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पुर्याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले बताए।
यसैबीच,पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो गाडीले सडकमा छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि गम्भीर घाइते उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।