गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानुनलाई संसोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।
विधेयकलाई भदौ ११ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले शुक्रबार नै ५/५ प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।