विराटनगरका विभिन्न स्थानमा सटरफोरी डकैती गर्दै आएका सातजनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनजना भारतीय रहेका छन् । उनीहरुलाई सिसि क्यामराको मद्तबाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।
मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो । उनीहरुले विराटनगर स्थित एक पसलवाटको सटर फोडी रहेको दृष्य समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।
विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फोरेर उनीहरुले लाखौं रुपैया डकैती गरेको प्रहरीको भनाई छ । उनीहरूले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा २०७६ साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार डकैती गरेका थिए ।
यसैगरी सोहि समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाई ४ लाख भाद्र ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट सटर फुटाई ४ लाख ९५ हजार र भाद्र १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट सटर फुटाएरै ६ लाख डकैती गरेको मोरङका प्रहरी प्रमुुख एसपी विश्व अधिकारीले बताए ।
पक्राउ पर्नेमा मधुबनी,कटैया ग्राम पञ्चायत–३ भारतका ३५ बर्षिय धमेन्द्र कामत,सोहि ठांउ वडानम्बर १ बस्ने ३२ बर्षिय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ बर्षिय मोहम्मद मोतिउर रहमान छन । यसैगरि सर्लाही गौर नगरपालिका वडानम्बर ३ का ४१ बर्षिय मोहम्मद मोहिज धुनियाँ,सोहि ठांउका ५० बर्षिय बलराम क्षेत्री,ब्रम्हपुरी गांउपालिका वडानम्बर ४ बस्ने ५२ बर्षिय सेख मोहम्मद सलिफ र सोहि ठांउका ४६ बर्षिय शेख अलि असगर रहेका छन ।
घटनाको बिषयमा जानकारी दिँदै एसपी अधिकारीले अभियुक्तहरुले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताए । उनीहरूले स्कारपियोको गाडीको प्रयोग गरेर गाडीमै वस्ने र गाडीमै सुुत्ने गरेका थिए । सो गाडीलाई सडकको छेउमा पार्किङ गरेर पसलका सटरहरु फोडी रकम लुुटेर लाने गरेको प्रहरीको भनाई छ ।
उनीहरू समुहमा हिडने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएका थिए । उनीहरूलाई प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको बी आर ३२ पि ए २८३६ नम्बरको स्कार्पियो गाडी ७ थान मोबाईल,नेपाली सिम कार्ड १ र भारतीय सिमकार्ड १ थान,फलाम काट्न प्रयोग हुने कटर मेशिन १ थान,कम्ब्याक्टर पैन्ट र तन्ना लगायतका सामाग्री बरामद गरेको छ । अभियुक्तहरुले लाखौंको चोरी डकैती गरेको भएपनि उनीहरूको साथबाट नेरु १२ हजार ८ सय ५० र भारु ११ हजार ४ सय १० रुपैया मात्र बरामद भएको प्रहरीले जनाएको छ ।सो घटनामा मुख्य अभियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोहि ब्यक्ती रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।