सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको सुरु गरेको छ । चालू आवको नीति तथा कार्यक्रममा उदघोष गरिएअनुसार गाउँपालिकामा सुत्केरीलाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण सुरु गरिएको हो ।
सुत्केरीका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका छन् । मंगलबार बलेफी गाउँपालिका ८, भीरकुनामा सुत्केरीका लागि पोषण सामग्री प्रदान गरिएको छ । वडा ८ का अध्यक्ष चरीबहादुर तामाङले ७ दिनकी सुत्केरी सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गरेका हुन् । उनीहरूलाई एक/एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो ।
स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिइन् । गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङको भनाइ छ । -रासस