नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा आइतबार गरेको कार्यक्रममा उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारका लागि ६ लाख अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।
प्रेस युनियन कास्कीले सञ्चालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत १ पत्रकारलाई हरेक वर्ष नगद ५१ हजारसहित सम्मान गरिनेछ । सो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशीको पुरस्कार रहेको युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलले बताए ।
बहिनी शारदा केसी रोकाहाको स्मृतिमा समाजसेवी केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन् ।
केसी परिवारले यसअघि पनि पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख प्रदान गरिसकेका छन् । उनले पुरस्कार वितरणमा जात, धर्म, लिंग, आस्थाका आधारमा विभेद नगर्न सुझाव समेत दिए ।
उनले पत्रकारले चलाउने कलमकै कारण सरकारका राम्रा–नराम्रा कार्य औंल्याउने र सरकारलाई सजक गराउन भूमिका खेल्ने भएकोले आफ्नो ध्यान पत्रकारप्रति रहेको बताए । सांसद केसीले पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्दति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पुर्याउने बताए । यस्तै, उनले देशैभरिका पत्रकारको उपचार सहयोगार्थ छिट्टै अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
यसैबीच, पत्रकार ओम हमाललाई राजनीतिक आस्थाका आधारमा प्रहरी हिरासतमा नराख्न उनले आग्रह गरे । उनले युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारमा आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पुरस्कारले पत्रकार जगतलाई थप जिम्मेवारी बनाउन भूमिका खेल्ने बताए ।
प्रेस युनियनका सल्लाकार रवीन्द्र बास्तोलाले प्रेसमाथि भएको हस्तक्षेपको विरुद्धमा एकजुट हुनुपर्ने बेला आएको बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारका नाम धेरै भएको भनिए पनि संस्थागत पुरस्कार भने अझै कमी नै रहेको बताए । उनले पुरस्कार वितरणमा सबै खेमाका पत्रकारलाई अपनत्व हुने गरी वितरण गर्न सुझाव दिए ।
प्रेस युनियनका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष विमला भण्डारी, युनियन उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोला प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकोर कालिका बहुमुखी क्याम्पस प्रमुखमा नियुक्त भएकोमा युनियनले उक्त अवसरमा सम्मान गरेको थियो । यस्तै, युनियनका सल्लाहकार राजबहादुर गुरुङको थप उपचारार्थ आवश्यक रकम संकलनमा पहल गर्ने युनियनका सचिव प्रदीप पौडेलले जनाएका छन् ।