ऐतिहासिक राधाकृष्ण रथयात्रा आज विशेष पूजापाठ गरेर विराटनगर–१ पानीट्याङ्कीबाट प्रारम्भ भएको छ।
सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सङ्घीय सांसद शिवकुमार मण्डल, प्रदेश सदस्य केदार कार्की र बिन्दीया कार्कीले विशेष पूजाअर्चनामा सहभागी भएका थिए।
भगवान् श्री राधाकृष्ण रथयात्राको यो ५२औँ महोत्सवमा हेलिकप्टरवाट पुष्प अर्पण तथा ड्रोन क्यामराबाट सुरक्षा अनुगमन गरिएको थियो । रथयात्रा अपराह्न ४ बजे युगल जोडी भगवान् श्री राधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, वरगाछी हुँदै पुनःमन्दिरसम्म सात किमीको दूरी पार गर्न ४ः३० घण्टा समय लाग्ने रथयात्रा समितिका अध्यक्ष बाबुराजा ओझाले बताए।
विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)यात्राका रुपमा शुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रुपमा परिणत भएको हो । रथ पेगोडा शैलीमा लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी) रहनेछ । दायाँपट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनले लठ्ठा समाइ रथ सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । डोरीभित्र छिरेर भक्तजन, श्रद्धालुलाई पूजापाठ गर्न रोक लगाइएको छ।