प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले चाबहिल–साँखु र सुन्दरीजल सडकको मर्मतको काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ ।
शुक्रबार उक्त सडकखण्डको स्थलगत अवलोकन गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखु र सुन्दरीजलसम्म पुग्ने सडकको अवलोकन गरेको हो ।
समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घरको अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताइन् । उनले महानगरीय प्रहरी वृत्त बौद्धको भवन अगाडि केही संरचना भत्काउनसमेत निर्देशन दिइन् । सभापति खड्काले सडक निर्माणको कार्यमा ठेकेदार कम्पनी र सरोकारवाला निकायको समेत कमजोरी देखिएको समेत बताइन् ।
सभापति खड्का नेतृत्वको टोलि बिहान १०ः३० मा चावाहिल सडकमा अनुगमनका लागि सिंहदरबारबाट निस्किएको थियो । टन्टलापुर घाम लागेको दिन पनि सडक किनारा हिलाम्मे थियो ।ढल फुटेर सडकमा बगिरहेको र हिलाम्मे बनेको थियो।
विसं २०७२ मा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम सकिएको छैन । सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो ।
उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेका छन् ।