रेल्वे स्टेशनमा दैनिक हजारौं मानिसको भीड। त्यही भीडबीच एक महिलाको सुरिलो आवाज गुन्जिरहन्थ्यो। आ–आफ्नो गन्तव्यमा लम्कन हतार मानिस कसैले उनको गीत सुन्थ्यो, कसैले वास्ता गर्दैनथ्यो। तिनै भीडले दयामायाले दिएको केही रुपियाँले ती महिलाले बिहान बेलुकीको छाक टार्थिन्। कुनै दिन भोकै रहनुपथ्र्यो।
तर समय सधैं एकै हुँदैन। ती महिलाको जीवन अचानक बदलियो।
उनी रातारात सेलिब्रिटी बन्न पुगिन्। टेलिभिजन, युट्युब सारातिर उनैको अन्तर्वार्ता बज्न थाल्यो। फिल्ममा गीत गाउन थालिन्। रियालिटी शोले बोलाउन थाल्यो। देशमा मात्रै नभई विदेशबाट समेत शोको निम्तो आउन थाल्यो । यतिसम्मकी उनलाई देशकै लिजेन्ड गायकगायिकासँग तुलना गर्न थालियो।
कुनै फिल्मको सनसनीपूर्ण कथाजस्तै लाग्ने जीवन।
उनी हुन् भारत पश्चिम बंगालकी रानु मण्डल।
उनी सधैंझै पश्चिम बंगालको रानाघाट रेल्वे स्टेशनमा बसेर गीत गाइरहेकी थिइन्–लता मंगेश्करको ‘एक प्यारका नग्मा है’ । उनको सुरिलो स्वरले एक युवकलाई खिच्यो । उनले मोबाइलमा उनको गीत रेकर्ड गरे र सामाजिक सन्जालमार्फत् सार्वजनिक गरे।
अनि त के थियो, उनको त्यो भिडियो रातारात भाइरल भयो। अनि, उनी सेलिब्रिटी बन्न पुगिन्।
भारतीय सन्चारमाध्यमले जनाएअनुसार उनले हालै हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी’ मा गीत रेकर्ड गराएकी छिन्। यसका साथै उनलाई रियालिटी शो सारेगमपबाट समेत निम्तो आएको छ। चाँडै उनलाई उक्त शोमा देख्न पाइने बताइएको छ। बंगालीभाषीसमेत भएकाले उनलाई बंगलादेशबाट शोका लागि निम्तो आएको बताइएको छ।
जहाँ उनी भेटिएकी थिइन्
हिमेश रेशमियाँसँग फिल्मको गीत रेकर्ड गराउँदै