मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । यस्तै ७ जना घाइते भएका छन् ।
मोरङको विराटनगर २, बरगाछीस्थित कोसी राजमार्गमा नम्बर नखुलेको ट्र्याक्टरले स.८प ४३५१ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार महुलीका १८ वर्षीय सुनील चौधरीको मृत्यु भएको छ । ठक्करबाट सख्त घाइते चौधरीको विराट नर्सिंङ होममा उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सप्तरी शम्भुनाथका २० वर्षीय त्रिभुवन चौधरीको भने सोही अस्पतालमै उपचार भइरहेको छ ।
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा ७ मा मे.१च २००३ नम्बरको एम्बुलेन्स र ना.५ख १९२५ नम्बरको ट्रक शुक्रबार बिहान ठोक्किँदा इलाम २ का २० वर्षीय एम्वुलेन्स चालक रमेश निरौलाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार ६ जनालाई उपचारका लागि घोपा अस्पताल धरान लगिएको छ ।
यस्तै सुनसरीको धरान १५ स्थित धरान-पानबारीस्थित खण्डमा को.३०प ६७७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सख्त घाइते भएका ३० वर्षीय गोपाल लिम्बूको बिराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।