लाखौँ हिन्दूधर्मावलम्बीले दर्शन गर्ने कृष्ण मन्दिरमा भक्तजनको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ । आज रातिदेखि पाटन दरबार सङ्ग्रहालयमा भक्तजनको घुइचो लाग्ने भएकाले सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । कृष्णको दर्शन गर्न भक्तजन आजैदेखि लाम लागिसकेका छन् ।
राति १ बजे भगवान् कृष्णको नित्य पूजा समाप्त भएपछि दर्शनका लागि भक्तजनको घुइचो लाग्ने गर्छ । भक्तजन बढ्ने भएपछि रातिदेखि नै लाम बस्ने गरेको स्थानीय काली श्रेष्ठले बताए । पाटनस्थित मङ्गल टोल सुधार सङ्घले व्यवस्थापनका लागि करीब ३०० सदस्य तथा अन्य सङ्घसंस्थाले समेत झण्डै ३०० स्वयमसेवक खटाउने निर्णय गरेको सङ्घका सचिव रविदर्शन धारीले बताए । मन्दिर पुनःनिर्माण गरिएपछि दुई वर्षदेखि भक्तजनलाई मन्दिरमै गएर दर्शन गर्न दिन थालिएको छ ।