१ किलो ६ सय ग्राम लागूऔषधसहित आइबेरीकोष्टका नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय Marcel Guehi लाई अवैध लागूऔषध कोकिन सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, काठमाडौं महानगरपालिका-९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका-१० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।