नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङले बिभिन्न जातजातिको अन्त्येष्टि स्थललाई आधिकारिकता दिएर ती समुदायलाई लालपूर्जा दिनुपर्नेमा जोडदार माग राखेकी छन्।
प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य गुरुङले गण्डकी प्रदेशमा छरिएर रहेका आदिबासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायको अन्तिम संस्कार गर्ने ठाउँहरुको राज्यले कानुन बनाएर व्यबस्थित गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन्।
प्रदेश सरकारले तत्काल कानुन निर्माण गरी मृत्युपछि अन्तिम संस्कार गरिने मुस्लिमको कबरस्तान, आदिबासी जनजातिको चिहानडाँडा र क्रिश्चियनहरुको अन्त्येष्टि स्थलहरुलाई आधिकारिकता प्रदान गर्नको लागि दर्ता गरी सम्बन्धित समुदायलाई लालपूर्जा प्रदान गराउन उनले सभामुखमार्फत गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइन्।
मुलुक संघीयतामा गएको तीन बर्ष पूरा हुन लागिसक्दा पनि सबै भाषा, धर्म, लिंग, जाति, पिछडा बर्गको भावना, मर्म र चाहना अनुसार गण्डकी प्रदेश सरकार अगाडि बढ्न नसकेकोमा उनले दुःख व्यक्त गरिन्।
संविधानमा उल्लेख भए बमोजिम जनताको सार्बभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै गर्दा गण्डकी प्रदेशभित्रका आदिबासी, जनजाति, मुस्लिम, क्रिश्चियन समुदायहरुको अधिकारलाई प्रदेश सरकारले सम्बोधन गर्न नसकेको प्रदेशसभा सदस्य गुरुङको भनाई थियो।