पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह आजदेखि ९१ वर्षमा लागेकी छन् ।
विदेशमा रहेका उनका माइला छोरा एवं पूर्वराजा ज्ञानेन्द्र शाहले उनको जन्मोत्सवमा ट्विटरमार्फत् शुभकामना दिएका छन् ।
ज्ञानेन्द्रले शुभकामना सन्देशमा रत्नको असाधारण जीवन धेरै वर्षदेखि चम्किलो उदाहरण भएको जनाएका छन् । राजतन्त्र बिदा हुनुअघि तत्कालीन मुमा बडामहारानीको जन्मोत्सवको रुपमा बाल दिवससमेत मनाउने गरिएको थियो ।
यस्तै पूर्वराजा ज्ञानेन्द्रकी नातिनी तथा रत्नकी पनातिनी पूर्णिका शाहले पनि पूर्व मुमाबडामहारानी रत्नलाई फेसबुकमार्फत शुभकामना दिएकी छन् । पूर्णिकाले 'हजुरको सामिप्यता सदासर्वदा मिलिरहोस्' भन्दै रत्नको तस्बिरसमेत फेसबुकमार्फत सेयर गरेकी छन् ।
पूर्णिकाले फेसबुकमा सेयर गरेको रत्नको तस्बिरमा यो समाचार तयार पार्नेबेलासम्म २ सय ९७ कमेन्ट तथा ७८ सेयर भएको छ । पूर्णिका पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् ।