मानिस दु:खका बेला सहयोग गर्नुभन्दा पनि फाइदा उठाउनतिर लाग्यो भने सम्झनुपर्छ ऊ निर्दयी बनेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत अरुण खोलामाथिको पुल ट्रकले ठक्करदिँदा क्षतिग्रस्त बन्यो । यो पुल क्षति भएसँगै पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुले पाउनु दु:ख पाएका छन् । यो खण्ड भएर चल्ले सवारीसाधन लामो समयसम्म जाममा बस्नुपर्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।
यही सडक जामको फाइदा उठाउँदै अरुण खोला आसपासमा स्थानीयले अलपत्र परेका यात्रुबाट १ बोतल पानीको सय रुपैयाँसम्म असुलिरहेका छन् । चाउचाउलाई एक प्याकेटको ७५ रुपैयाँ लिन थालेका छन् भने १० रुपैयाँ पर्ने बिस्कुटको भाउ त झन् ५० रुपैयाँ पुर्याएका छन् ।
अरुण खोलाको पुलमा क्षति पुगेपछि बनाएको डाइभर्सनमा भएको जामले पूर्व र पश्चिमतिर गाडीको लाइन बढेको छ । राजमार्गको दुवैतर्फ बाक्लो जंगल छ । जंगलमा अन्य पसल नहुँदा यात्रुले चर्को मूल्यमा पानी र चाउचाउ किन्नुपरेको छ ।
एकतर्फी सडक खुल्दा पनि ४ घण्टासम्म जाम हुँदै आएको छ । बजार नहुँदा सामान्य खानेकुराको भाउ अचाक्ली बनाइएको हो । यसरी मनोमानी मूल्य यात्रुबाट असुल्दा पनि नियमन गर्ने निकाय कोही पनि उपस्थित हुन सकेको छैन ।
सडक डिभिजन कार्यालयले २ डोजरको सहायतामा दोहोरो आवगमन हुने गरी डाइभर्सन बनाउँदै छ । पानी रोकिएकाले मंगलबार साँझसम्म दोहोरो यातायात सञ्चालन हुने सम्भावना छ । साताअघि अरुणखोला पुलमा ट्रक ठोक्किएपछि पुल भाँचिएको हो । पुल भाँचिएपछि ३ दिन लगाएर वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो ।
भाँचिएको पुल टेका लगाएर माथि उठाउने र सोझ्याउने काम भने भइरहेको छ। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले दुई साताभित्र पुलबाटै यातायात सञ्चालन हुने गरी काम भइरहेको जानकारी दिए ।