पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेङ्गु सङ्क्रमणको प्रमुख कारकका रुपमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिए ।
नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मिलन केन्द्रद्वारा संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालयको सहकार्यमा आज आयोजित डेङ्गु सचेतना कार्यक्रममा बोल्दै उनले स्थानीयले रोगका बारेमा पहिचान भए पनि त्यसबाट बच्न कुनै पनि सतर्कता नअपनाएका कारण डेङ्गु रोग बढेको बताए। डेङ्गु रोग सार्ने लामखुट्टे यतिखेर पोखराका वडा नं. ८, ९ र १७ मा बढी देखिएका बताइएको छ ।