पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ ।
अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध भएको हो । अहिले पनि खोलामा पानीको मात्र बढिरहेकाले ‘डाइभर्शन’ मर्मतको काम प्रभावित भएको छ ।
यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लामो लाइन भएको छ । चौबिस घण्टादेखि राजमार्ग अवरुद्ध हँुदा यात्रुलाई सास्ती भएको छ । डाइभर्शन निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको उनको भनाइ छ । डाइभर्शन निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए ।
उनले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गरेका छन् । उनका अनुसार काठमाडौँबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हुँदै बुटवलतर्फ जान र बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको छ । यस्तै २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा झण्डै १० किलोमिटर दुवैतर्फ सवारीको लाम लागेको छ । गत साउन २९ गते बुधबार पुलमा ट्रक ठोक्किएर भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।