सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल सुरु भएको छ। गाउँमा गौरा घर लिपपोत सुरु भएको छ भने वर्षाले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँले जुटिसकेका छन्।
गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि सुरु भइसकेको छ। डोटीका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ । पुरुषहरूले मठमन्दिर सरसफाइ गरी गौरा भित्र्याउन देवताका चैत, धुमारी र ठाडो खेल शुुरु गरिसकेका छन्।
गौरापर्व मनाउनकै लागि थातथलो छाडेर बाहिर गएका पनि धमाधम घर फर्कन थालेका छन्। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, डोटीका गाउँघरमा अहिले गौराको तयारी सुरु भएको डोटीको जोरायल गाउँपालिकाका–४का स्थानीयवासी दिनेशबहादुर मल्लले बताए।
उनले भने, ‘गाउँमा गौराको चहलपहल बढेको छ, परदेश गएका घर आउन थालेपछि शहर बजार भन्दा पनि अहिले गाउँ घरको रौनक बढेको छ।’
सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन घर फर्किनेका कारण तराईबाट पहाड आउने गाडी प्राय भरिभराउ हुने गरेको ट्राफिक प्रहरी पोष्ट बुडरका ट्राफिक प्रहरी केशव खड्काले बताए।
त्यस्तै यहाँका जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रसम्म यातायातका सावरी साधानमा भीड बढेको स्थानीयवासी बताउँछन् । दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा अहिले गौरापर्वका लागि चाहिने सामान तथा नयाँ लुगा खरीद गर्नेको भीड बढेको दिपायल पिपल्लाका हरिश फेन्सीका व्यापारी नरबहादुर खड्काले बताए। नेपाली पात्रोअनुसार यो वर्ष गौरा पर्व यही भदौ ६ गतेपर्ने भएको छ।
सुदूरपश्चिम प्रदेशका हरेक जाती, वर्ग र क्षेत्रका बासिन्दाको विभेदरहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनक बेग्लै हुने गरेको बुढापाका बताउँछन् ।