पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आज प्रहरीमा किटानी जाहेरी परेको छ ।
उनकी श्रीमती सम्झनाले पक्राउ परेकाविरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनका अनुसार आज परेको पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकिएको छ । चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रहरी हिरासतमा रहेका तीनै जनाको नाममा जाहेरी परेको जानकारी दिए । यसअघि घटनाको अनुसन्धानका लागि भनेर परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
पुडासैनीको यही साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।पुडासैनीले मर्नुअघि मोबाइलमा रेकर्ड गरेको उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलार्ई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो ।
शुक्रबार आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दामा चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।