एक ३० वर्षीया युवतीसँग ‘लिभिङ टुगेदर’ मा रहेका महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २० वर्षीय प्रहरी जवान शंकर ठगुन्ना कोठामा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
दार्चुलाका ठगुन्नाले नागाजुर्नन नगरपालिका ३, स्वयम्भूस्थित ठूलोभर्याङनजिकै प्रेमिकाको कोठामा झुन्डिएर आत्महत्या गरेको बताइन्छ ।
ठगुन्ना र ती युवती दुवै विवाहित हुन् । युवतीको पतिको भने मृत्यु भइसकेको छ । प्रहरीका अनुसार शनिबार साँझ १० बजेतिर मदिराले मातेर उनी प्रेमिकाको कोठामा पुगेका थिए । राति झन्डै डेढ बजे ती युवतीले ठगुन्ना झुन्डिएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटनास्थल पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।
‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए,’ एक प्रहरी भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हानेर लडाएको उनले बताएकी छन् ।’ मुक्का प्रहारबाट आफू लडेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘लडेपछि एकछिन भुइँमै झपक्क भएँ । उठेर हेर्दा झुन्डिएको देखेँ ।’ युवतीभन्दा १० वर्ष कान्छा ठगुन्ना डेढ वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रहरीले थप अनुसन्धानका लागि भन्दै ती युवतीलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।