पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालय फोरी चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ । झण्डै एक वर्षयता श्रृंखलाबद्धरुपमा भएका वडा कार्यालयमा चोरीमा संलग्न भएको आरोमा प्रहरीले काठमाडौँ महानगरपालिका–११ घर भई पोखरा–१० रामबजार डेरागरी बस्ने ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
थापालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–६ शहीदचोकबाट साउन २६ गते पक्राउ गरेको पत्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट चोरी गरिएका केही सामग्रीसमेत प्रहरीले थापाको कोठाबाट बरामद गरिएको छ भने केही सामग्री बिक्री गरिसकेको पाइएको छ । थापालाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालतमा मुद्दा दायर गरिएको उहाँले जानकारी दिए ।
पक्राउ परेको थापा यसअघि चोरी मुद्दामा काठमाडौँ केन्द्रीय कारागारमा विसं २०४६ देखि २०५१ सम्म पाँच वर्ष जेल सजाय र चोरी मुद्दामा विसं २०७१ देखि २०७४ सम्म कैद सजाय भोगिसकेका हुन् । २०७५ साल जेठ २ गते रातिको समयमा वडा नं १२ माटेपानीस्थित वडा कार्यालयबाट चोरी शुरु भएको थियो भने अन्तिम पटक वडा नं ६ को वडा कार्यालय २०७६ साउन २१ गते चोरी भएको थियो ।
चोरले वडा कार्यालय चोरी गर्दा विशेष गरी रड, स्कुडाइभर, पञ्जा, माक्सलगायतका चोरीमा प्रयोग गर्ने सामग्री थापाको डेराबाट प्रहरीले बरामद गरेको छ ।ती वडाबाट सामानसहित नगदसमेत चोरी भएको थियो ।