काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताए ।
महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन् । उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले ब्यहोर्नका लागि करीब रु १० करोड रकम विनियोजन गरिएकोसमेत जानकारी दिए । उनका अनुसार विद्यालयको रङरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, वृक्षरोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायतका शीर्षकका लागि रु १० करोड रकम छुट्याइएको छ ।
प्रमुख शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामुदायिकतिर आकर्षित गर्नसके निजीमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जाने बताए । उनले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँनयाँ ज्ञानमा निपुण भएको भन्दै पुरानाको अनुभवसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने बताए ।