प्रदेश ५ मा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले सपथ ग्रहण गरेका छन् ।
भट्टराईले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिशका आधारमा प्रदेश प्रमुखले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
योसँगै प्रदेश ५ मा प्रदेश कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । प्रदेश ५ सरकारका १ सय ४७ कार्यालयका लागि करीब ४ हजार कर्मचारी चाहिन्छन् ।मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको ३ सदस्यीय समितिले महेन्द्र बहुमुखी क्याम्पस दाङमा गणित विभाग प्रमुख रहेका सन्धिखर्क १० अर्घाखाँचीका बासिन्दा प्राध्यापक डिलाराम भट्टराईलाई लोकसेवा आयोगको अध्यक्षका लागि सिफारिश गरेको थियो ।
प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐनअनुसार मुख्यमन्त्री अध्यक्ष, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहेको समितिको सिफारिशलाई प्रदेश प्रमुखले निर्णय गर्ने व्यवस्था छ ।