बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल सुरु भइसकेको थियो ।
किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो । केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी सुरक्षाकर्मीको घेराभित्र डोजर लिएर रत्नपार्क पुगे । करिब १२ बजे रत्नपार्क पुगेका नगरपालिकाका कर्मचारीको सोमबारको काम (ड्युटी) थियो मापदण्डविपरीत बनेका घरटहरा जसरी पनि डोजर लगाएर भत्काउने । तर, रत्नपार्कका स्थानीय बासिन्दाले प्रहरी र कर्मचारी आइपुग्नुअघि नै आफ्नो घर आफैं भत्काउन थालिसकेका थिए ।
सुरक्षाकर्मीको दलबलसहित रत्नपार्क पुगेका कर्मचारी दिनभर स्थानीय बासिन्दाले आफ्नो घर आफैँ भत्काएको दृश्य रमिता बनेर हेरिरहे । नगरपालिकाको योजना शाखा अधिकृत सीताराम खतिवडा नेतृत्वमा गएको प्राविधिकसहितको टोली करिब ५ बजे आफ्नो ड्युटी सकाएर कार्यालय फर्कियो । मापदण्डविपरीत बनेका घरटहरा हटाएर नगर व्यवस्थित बनाउन नगरपालिकाले साउन २० देखि अभियान आरम्भ गरेको थियो । यसबीच नगरपालिकाले मापदण्डविपरीत बनेका करिब डेढ दर्जन घरटहरा हटाइसकेको छ । लामो समयदेखि नगरपालिकाको मापदण्ड मिचेर बसेका सबैको घर-टहरा हटाउन नगरपालिकाले डोजर प्रयोग गर्नुपरेको थियो ।
यतिसम्म कि अभियानको पर्सिपल्ट साउन २२ मा डोजर लगाएर घरटहरा भत्काउँदा स्थानीय बासिन्दाले कर्मचारीमाथि हातपातै गरेका थिए । स्थानीयको अवरोधका बाबजुद नगरपालिकाले डोजर लगाएर रत्नपार्कमा सञ्चालित मोटरसाइकल वर्कसप रहेको टहरा तथा आसपासका बासिन्दाको संरचना हटाएको थियो । सुरक्षाकर्मीको बलमा सामान हटाउन नदिई जबर्जस्ती डोजर लगाएपछि प्रतिकारमा उत्रनुपरेको स्थानीय बासिको भनाइ छ । तर, यसपटक भने त्यस्तो अवस्था आएन । रत्नपार्कका बासिन्दा रामकाजी खत्रीलगायतले आफ्नो घरटहरा आफैं भत्काएर नगरपालिकाको अभियानमा सहयोग गरेका छन् ।
नगरपालिकाको अभियानमा आफूहरुको पनि साथ रहेको भन्दै उनीहरु आफैँले कामदार लगाएर दुई टहरा तथा एक घर आफैंले भत्काएका हुन् । नगरपालिकाले जसरी पनि घरटहरा भत्काउने भएपछि आफ्नो घर आफैंले भत्काएको लाहुरे हार्डवेयरका सञ्चालकसमेत रहेका खत्रीले बताए । 'आफ्नो घर आफैं भत्काउँदा नगरपालिकाको अभियानमा सहयोग गरेजस्तो पनि भएको छ,' उनले भने, 'सामान पनि सुरक्षित रहने हुँदा घाटा व्यहोरेर कारबाहीको सूचीमा पर्नुभन्दा आफ्नो घर आफैंले ज्यालामा कामदार लगाएर भत्काइएको हो ।' मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटकपटक पत्रचार गर्दासमेत स्थानीयले अटेरी गरेपछि गत सोमबारबाट डोजर प्रयोग गरी हटाउन सुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । 'अव्यवस्थित नगरपालिकालाई व्यवस्थित बनाउने अभियानमा हामी लागेका छौँ,' उनले भने, 'अटेरी तथा अवरोध गर्ने जोसुकैको घरटहरा हटाएर व्यवस्थित र सुन्दर नगर बनाएर छाड्छौँ ।'
नगरपालिकाले जसरी पनि घरटहरा हटाउने भएपछि अहिले दिक्तेल बजार तथा आसपासका बासिन्दाले आफ्नो घरटहरा आफैं हटाउन थालेका छन् । मापदण्डविपरीतका घरटहरा हटाउन नगरपालिकाले समयसीमा पनि दिएको छ । दिक्तेल बजारको अल्छेढुंगाबाट सुरु गरिएको अभियान क्रमशः नगरपालिकाको सबै वडामा पुर्याइने नगर उप-प्रमुख विणादेवी राईले बताइन् । 'पहिलो चरणमा दिक्तेल बजारका घरटहरा हटाउन थालिएको छ,' उनले भनिन्, 'दोस्रो चरणमा घरटहरासँगै अन्य संरचना भत्काएर व्यवस्थित गरिनेछ ।'
सडकको दायाँबायाँ ३१-३१ मिटर छोडेर मात्र भौतिक संरचना तथा घरटहरा बनाउन नगरपालिकाले भने पनि स्थानीयले जबर्जस्ती मापदण्ड मिचेर बनाएका छन् । नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाटै असुलउपर गरिने जनाइएको छ । अटेर गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गराउन मिल्ने कानुनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । पुरानो संरचनाका घरहरु मात्र रहेको दिक्तेल बजारका अधिकांशको भत्काउनुपर्ने प्राविधिकले बताएका छन् । -रासस