सुदूरपश्चिम क्षेत्रमा गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदै छ । गौरा उपसनासँगै व्रत उपसना गरिन्छ । गौराको व्रत लिने महिलाहरु आज शिवपार्वतीको पूजा गर्छन् ।
गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता छ । नयाँ व्रतालुले समेत आज उपासना गर्छन् । गौरा एकादशीदेखि गौरा पर्व आरम्भ भएको मानिन्छ । भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भनिन्छ । गौरा पर्व अगामी भदौ ६ गते परेको छ ।
पौराणिककालमा भगवान शिवको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यस पर्व मनाउने परम्परा चल्दै आएको किंवदन्ति छ ।
सुदूरपश्चिममा मात्रै नभएर छिमेकी भारतको उत्तराखण्डको कुमाउ प्रदेशमा पनि यो पर्व धुमधाम साथ मनाइन्छ । यस पर्वको दोस्रो दिन महिलाहरुले पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धुन्छन् । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।