भक्तपुरको ठिमीमा आइतबार बिहान ४ वटा बस आपसमा ठोक्किएका छन् । एउटा बसले अन्य ३ बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौँबाट सिन्धुली जाँदै गरेको बा.४ख ५७९४ नम्बरको बस आफैँ अनियन्त्रित भई सोही दिशातर्फ गइरहेका बा.३ख ७०९३, बा.५ख ४०२९ र ना.६ख ७१८५ नम्बरका बसलाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइतेमध्ये १३ जनालाई नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। चारै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग (गठ्ठाघर) को नियन्त्रणमा राखिएको छ । ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका ६ का ३० वर्षीय दीपकराज ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।