झुटा कागजात बनाइ नेपाली नागरिकता लिन सफल तिब्बती २ नागरिकसहित ८ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ गरेको छ।
नक्कली बाबु बनेका पोखरा सराङकोटका लेखबहादुर थापामगर, उनले छोरी बनाएका तीब्बती २ युवती, सर्जमिन मुचुल्कामा सही गर्ने ५ सहित ८ जनालाई पक्राउ गरी कारवाही थालिएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले बताए। लेखबहादुरले छोरी बनाएका ती युवती उनका नातिनी (छोरीका छोरी) भएको पुष्टि भएको सिडिओ बुढाले जानकारी दिए। छोरीले तिब्बतीसँग बिहे गरेको र ज्वाइँ लामो समयदेखि सम्पर्कविहीन रहेपछि दुवै नातिनीलाई लेखबहादुरले पाल्दै आएका थिए।
पक्राउ पर्नेमा सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर छन्। जिल्ला प्रशासन कास्कीले गरेको अनुसन्धानपछि ८ जना पक्राउ परेको सिडिओ बुढाले जानकारी दिए।
नेपाली आमा र तिब्बती बाबुबाट जन्मिएका सरु थापामगर र तासी आङ्गो थापामगरले जेठ २६ र असार ६ गते जिल्ला प्रशासन कास्कीबाट नागरिकता लिएका थिए। लेखबहादुर थापका छोरी बनेर सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते नम्बरका २ नागरिकता जारी भएका छन्। सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन्। कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ।
यो प्रकरणामा संलग्न रहेका जिल्ला प्रशासनका ४ र पोखरा महानगर १८ का २ कर्मचारीलाई विभागीय कारवाही थालिएको छ। सिफारिस गर्ने वडाध्यक्ष रणबहादुर थापाको हकमा भने अदालतले नै फैसला गर्ने सिडिओ बुढाको भनाइ थियो।