सुर्खेतमा रहेको ऐतिहासिक एवं पर्यटकीय स्थल काँक्रेविहारको पुननिर्माण करिब साउनमै पूरा हुने भएको छ ।
काँक्रेविहार पुनर्निर्माणको अन्तिम चरणको काम भइरहेको निर्माणमा संलग्न कालिगढहरु बताउँछन् । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने काँक्रेविहार पुरातात्त्विक महत्त्वको मानिन्छ । यहाँ शिखर शैंलीमा मन्दिर पुनर्निर्माण गरिएको छ ।
जंगलको बीचमा रहेका भग्नावशेष जोडेर मन्दिर पुनर्निर्माण गरिएको हो । हिन्दु, बौद्ध दुवै धर्मावलम्बीहरुले निकै आस्थाका रुपमा लिइने काँक्रेविहारको पुननिर्माणसँगै पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी भन्छन्, 'यसको पुनर्निर्माण सकिएसँगै पर्यटक बढ्ने पक्का छ ।'
पुनर्निर्माणको अन्तिम चरणमा पुगेको काँक्रेविहारमा हिजो (बुधबार) केही उच्छृङ्खल व्यक्तिले तोडफोडसमेत गरेका छन् । तोडफोड गर्ने समूहले काँक्रेविहारको गेट, गजुर, काउन्टर तथा हातधुने बेसिनमा क्षति पुर्याएको स्थानीयको भनाइ छ ।
शिखरशैलीमा निर्माणाधीन मन्दिरको टुप्पामा पुगेर गजुरसमेत भाँचिदिएका छन् । त्यहाँ राखिएको थैला, बोरा च्यातचुत पारिएको छ । बस्तीदेखि केही पर जंगलको बीचमा रहेकाले काँक्रेविहार अलि असुरक्षित देखिएको हो । काँक्रेविहारमा दिउँसो मात्रै रेखदेख गरिने भएकाले रातिको समयमा तोडफोड भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
वडाअध्यक्ष सुरेश मानन्धरले तोडफोड गर्ने समूहलाई खोजी गर्न प्रहरीलाई आग्रह गरिएको बताए । स्थानीय बासिन्दाले काँक्रेविहारमा तोडफोड गर्नेमाथि तत्काल कानुनी सजायको माग गरेका छन् ।