सप्तरीमा एक गर्भवतीको हत्या आरोपमा उनका सासू-ससुरालाई प्रहरीले पक्राउ गरेको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिका ३ की १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी ४५ वर्षीया सासू लीलादेवी यादव र ५५ वर्षीय ससुरा महेन्द्र यादवलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपीहरुले घाँटी थिचेर हत्या गरेका हुन् । उनीहरुबिरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो ।
घाँटीमा डोरीको नीलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मृतक ३ महिनाकी गर्भवती थिइन् । -रासस