प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्थापना नभएको गुनासो गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको बताए । उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको बताए ।
राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले जानकारी दिए । उनले भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएकोपनि जानकारी गराए । अन्य जिल्लामा पनि खाद्यान्न वितरणको काम भैरहेको बताए। त्यस्तै उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिए।
फरक प्रसँगमा उनले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारे । बरु अब सरकारले काम गर्ने शैली बदल्ने पनि उनले बताए ।