एक सातादेखिको अविरल वर्षाले जिल्लाका अधिकांंश सडक अवरुद्ध बनेका छन् । राजमार्ग आंशिक रूपमा अवरुद्ध बनेका छन् भने ग्रामीण सडकहरू भने ठप्प भएका छन् । सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो आएर आवतजावत रोकिएको छ ।
पटक–पटक सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ । वर्षाले बाजुराको बल्देदेखि सदरमुकाम मार्तडी खण्डको ठाउँ–ठाउँमा पहिरो आउने क्रम रोकिएको छैन ।
बुढीगंगा नदीमा पानीको बहाब पनि बढ्दै गएकाले साफे–मार्तडी खण्डमा पनि असर परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।
उनले नदीमा पानी बहाव धेरै रहेको र सोही बहावकै कारण सडकमा पनि असर गरेको हुँदा सवारीसाधन आउजाउमा अवरोध भएको छ । साँफे–मार्तडी खण्डको पानी नाउलामा सडकभन्दा माथिबाट दुई ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएको भाटको भनाइ छ । सडक अवरुद्ध हुँदा भाटकै नेतृत्वमा १२ जनाको टोली गएर सडक मर्मत गरी सञ्चालन गरिएको थियो ।
त्यस्तै अम्कोटको तल पहिरोले बुढीगंगा नदी थुनिने सम्भावना बढेको छ । यसले सडकको ढिक कटान सुरु गरेसँगै जोखिम पनि बढेको बुढीगंगा नगरपालिका उप–प्रमुख तारा खाती बताउँछिन् ।
उनले नदी थुनिने सम्भावना बढेकाले आसपास बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेकी छन् । जिल्ला प्रशासन कार्यालयले पनि सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
लगातारको वर्षासँगै मार्तडी–कोल्टी सडक दुई सातादेखि बन्द छ । मार्तडीबाट कोल्टीसम्म चल्ने हुने जिपहरू नचल्दा पूर्वी उत्तरी भेकका बासिन्दाले पैदल यात्रा गर्न बाध्य छन् । यस्तै जिल्लाका अन्य ग्रामीण सडकहरू पनि अविरल वर्षाले अवरुद्ध बनेका छन् ।
– रामबहादुर विक