अबैध उत्खननले बनेको खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा दुइ जना बालकको मृत्यु भयो। बुधवार बाख्रा चराउन गएका स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य मगर र हरिबहादुर मगरको ११ वर्षीय छोरा आकाशको खाल्डोमा डुबेर मृत्यु भएकाे हाे। प्रहरीका अनुसार डुबेर अवस्था गम्भीर भएका दुबैलाई उपचार गराउन जनकपुर ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको थियो। स्थानीय जनप्रतिनीधि र प्रशासनको मिलिमतोमा ग्राभेल र बालुवाको लागि खनेको खाल्टोमा डुबेर एकै परिवारका दुबै बालकको मृत्यु भएको हो।
बालकको मृत्यु भएपछि गणेशमान चारनाथ नगरपालिका–४ बीरेन्द्रबजारस्थित दोषीलाई कार्वाही र क्षतीपुर्तीको माग गर्दै बिहीवार स्थानीयहरु आन्दोलित भए। आन्दोलित स्थानीयहरु बिरेन्द्र बजारस्थित पुर्वपश्चिम राजमार्ग नै अबरुद्ध गरे। तर स्थानीय प्रशासन र नगरपालिकाले माग सम्बोधन गर्ने आश्वासन दिएपछि राजमार्ग खुल्यो।
‘स्थानीयहरु स्थानीय सरकारबाट स्वीकृति नै नलिइकन बालुवा, गिट्टी बेच्न ठेक्का लगाएका छन्। ठेकेदारले स्काइभेटर लगाएर १५ फिटसम्म खाल्डो खन्ने गरेका छन्,’ नगर प्रमुख रामबाबु यादवले भने। उनका अनुसार अबैध उत्खनन रोक्न पटक पटक प्रयास गरे पनि असफल भएको बताए। तर स्थानीयहरुले भने प्रमुख यादव र स्थानीय प्रशासनकै मिलिमतोमा खाल्डो खनेको दावी गरेका छन्।
यसअघि बाँके खोलामा बालुवा, गिट्टी उठाउन क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका–१३ का १२ वर्षीय अमित कुमार रायको मृत्यु भयो।
नगरवासीका विरोधका बाबजुद नगरपालिकाका र स्थानीय प्रशासनको मिलेमतोमा क्रसर उद्योगले खेनेको ३० फिट गहिरो खाल्डोमा डुबेर अमितको मृत्यु भएपछि स्थानीय आन्दोलित भए। आन्दोलित स्थानानीइहरुले दोषीलाई कारर्वाही र मृतक परिवारलाई क्षतिपुर्तीको माग गर्दै बाँके जंगलस्थित पुर्व पश्चिम राजमार्ग अबरुद्ध गर्न पुगे।
डुबेर मृत्यु भएका बालकको शव लिएरै राजमार्ग अबरुद्ध गरी प्रदर्शन गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाए। प्रहरीको गोली लागेर स्थानीय सरोज सिंहको मृत्यु भयो। अबैध उत्खननले बाढी तथा डुबान निम्त्याउनका साथै प्रदेश २ मा कयौँ बालबालिकाको ज्यान गएको छ। जथाभावी खनेर पुरिएका खाल्डामा परेर मात्रै दुइ सातामा ९ जनाको मृत्यु भएको छ।
दुइ साता यता प्रदेश २ मा आदित्य र आकाश जस्ता २८ जना बालबालिकाको पानीमा डुबेर र बगेर मृत्यु भएको छ। मृत्यु भएकाहरूमा १५ महिने शिशुदेखि १४ वर्षसम्मका किशोर छन। अधिकांश बालबालिकाको गत साताको वर्षाले तराई–मधेस डुबान भएका बेला मृत्यु भएको हो।
आर्थिक वर्ष सकिन लाग्दा हतार हतार सडक र कल्भर्टमा माटो ओछ्याउन खनिएको खाल्डो बालबालिकाका लागि धराप बनेका हुन्। पानी परेपछि खाल्डो पोखरीजस्तै बन्दा बालबालिका डुब्ने गरेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार केही दिनयता बाढी र पानीमा डुबेर सिरहा, महोत्तरी र रौतहटमा ६ -६ जना बालबालिकाको मृत्यु भएको छ।
पर्सामा ४ जना, बारामा २ जना, सर्लाहीमा १ जना र धनुषामा ३ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता ज्ञानकुमार महतोले विपद्का बेला बालबालिकालाई सुरक्षित राख्न अभिभावकमा चेतना जगाउन आवश्यक रहेको बताए।