नक्कली सवारी चालक अनुमतिपत्र बाँड्दै हिँड्ने २ युवक पक्राउ परेका छन् । काठमाडौंबाट नक्कली सवारी चालक अनुमति पत्र बनाई गाउँका युवालाई वितरण गरिरहेका २ जनालाई धनुषाको हंसपुर नगरपालिका ९, बालगंगा चोकबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही नगरपाललिकाको वडा ६ का ३४ वर्षीय अली अकबर मन्सुर र औरही गाउँपालिका ६ का अली बकस रहेको प्रहरीले जनाएको छ । नक्कली चालक अनुमतिपत्र बाँड्दै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुको साथबाट ५-५ थान सवारी चालक अनुमति पत्र पनि बरामद गरेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई सवारी चालक अनुमतिपत्रसहित नियन्त्रणमा लिई सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको कार्कीले जनाए ।