प्रदेश २ का सभामुख सरोजकुमार यादवको पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका युवक प्रहरी हिरासतबाटै फरार भएका छन् ।
बाराको सिमरौनगढको बजारमा सभामुख यादवको पाकेट मारेका भारतको मोतिहारी जिल्ला लिपनी ४ का १९ वर्षीय फिरोज मियाँ सिमरौनगढ इलाका प्रहरी कार्यालयको हिरासतबाटै फरार भएका हुन् ।
मेसमा खाना खान लगिएका बेला मंगलबार बिहान ८ बजे पर्खाल नाघेर मियाँ फरार भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
साउन ३ गते सभामुख यादवको पकेट मारेर (चोरेर) भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका थिए । सभामुख यादवका अनुसार सिमरौनगढको हाट बजारमा गएका बेला मियाँले उनको पकेट मारेका थिए । फरार मियाँको खोजी जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिए ।
'म भीडभाडमा स्थानीयसँग गफ गरिरहेका बेला मेरो पकेट मारेको अर्को युवकले देखेको रहेछ,' यादवले भने, 'उसले समातेर ल्याएपछि पो मेरो पकेट मारिएको थाहा भयो । उसले ५० हजार झिकेर भागेको रहेछ ।'