क्रिस्चियन धर्म प्रचार गरेको आरोपमा ३ र बालयौन दुराचार आरोपमा १ गरी पोखरामा २ दिनको अवधिमा विदेशी ४ नागरिक पक्राउ परेका छन् । बाल यौन दूराचार गरेको आरोपमा मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पोखराबाट अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई मंगलबार पक्राउ गरेको हो । कामदार भिसामा ३ वर्षदेखि पोखरा बस्दै आएका थोमस प्याराग्लाइडिङ चालक हुन् ।
ब्युरोको विशेष टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका २ बालकको पनि उद्धार गरेको छ । थोमसले अन्य बालकमाथि पनि यौन दुराचार गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।
अन्य ३ जना विदेशीलाई सोमबार वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो । जापानी महिला रैको सेकिया र पुरुष जायरो सेकिया क्रिस्चियन धर्म प्रचारको आरोपमा सोमबार पक्राउ परेका हुन् । उनीहरु विगत ३ वर्षदेखि पोखरा बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुको लेकसाइडस्थित कोठाबाट केही थान बाइलबलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
धर्म प्रचार गरेको आरोपमा ७३ वर्षीय कोरियन नागरिक चौ याओसाङ पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । सोमबार पक्राउ परेकालाई वडा प्रहरीका कार्यालय बैदामबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । उनीहरु के का लागि कसरी नेपाल आएका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ ।