बुटवल ७ साउन । सरकारी कार्यालयमा वेथिती वढेको भन्दै प्रदेश ५ को सरकारले अनुगमन थालेको छ । जनताको काम गर्नु पर्ने सट्टामा कर्मचारी काम चोर हुन थालेको निश्किर्ष सहित पहिलो पटक प्रदेश सरकार फिल्डमा उत्रिएको हो । सोहि क्रममा मंगलवार प्रदेश ५को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुटवलका यातायात कार्यालयमा छड्के गरेको हो ।
बुटवलमा रहेको यातायात व्यवस्था कार्यालय लाइसेन्स र मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालय सवारीमा कार्यालयका दुई टोलीले छड्के चेक गरेका हुन्। सो क्रममा २१ जना कर्मचारी अनुपस्थित भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । सवारी तर्फको यातायातमा कार्यालय प्रमुख सहित १० जना अनुपस्थित रहेको उनले बताए। कार्यालयमा आउने समय १०ः१५ सम्म रहेपनि कार्यालय प्रमुख नै करिव साढे १० मा कार्यालयमा आएपछि उनको हाजिरी अनुपस्थिति बनाइएको छ ।
लाइसेन्स तर्फको कार्यालयमा २९ दरबन्दीमध्ये ११ जना कर्मचारी अनुपस्थित रहेका थिए । यी कार्यालयमा कामकारबाहीको रेकर्ड प्रणाली उपयुक्र्त नभएको भेटिएको अधिकारीले बताए । मुख्यमन्त्री कार्यालयले समयमा कार्यालयमा नआउने कर्मचारीलाई स्पष्टिकरण सोधिसहितको आवश्यक कारबाही अघि बढाउने बताइएको छ। यी दुई कार्यालय प्रदेश मातहत रहेका छन्।
अनियमितताका घटना बढेपछि चौतर्फि आलोचना भएको समयमा मुख्यमन्त्री कार्यालयले छड्के चेक गरेको हो। सोमबार मात्रै मुख्यमन्त्री पोखरेलले प्रदेश मामिला तथा कानुन समितिको बैठकमा शुसासनका लागि मुख्यमन्त्री कार्यालयले काम थाल्ने बताएका थिए।