जलाद नदीमा आएको बाढीले जनकपुर उपमहानगरपालिका–१ की गंग्रेसी देवी सदाको घर डुब्दा दाल, चामल, नुन लगायतका सबै लत्ताकपडा तथा खाद्यन्न समाग्री नष्ट भयो। चार जना बच्चा सहित उनी दुई दिनसम्म भोकै बसिन्।
घरमा पानी पसेपछि परिवारसहित उनको बिचल्ली भएको छ। दैनिक छाँक टार्न समेत गाह्रो भएको छ। दैनिक ज्यालादारीले साँझ बिहान घर परिवार चलाउने मुसहर समुदाय वर्षापछि काम पनि नपाउँदा समस्यामा परेका छन्।
स्थानीय शिवसती सदाको पिडा गंग्रेसीको जस्तै छ। अविरल वर्षाले घरमा पानी पस्दा घरेको बेरा भत्किएर घर भरी हिलो छ। घरका समान पानीमा बगेपछि घर नजिकै रहेको पक्की घरको छतमा त्रिपालको टहरामा दुई रात बिताएकी शिवसती सदा काम नपाएकाले घरमा खानेकुरा ल्याउन सकेकी छैनन्। ‘बच्चाहरु भोकले रुदै कराउँदै राती सुत्छन्’, उनले भनिन्। स्थानीय रामचन्द्र महराको अवस्था पनि उस्तै छ।
जनकपुरधाम उप महानगरपालिका १ की मुनी देवी सदाले घरमा आउने नेतालाई झाडुले स्वागत गर्ने तयारीमा छन्।
बाढी, डुवानले घरमा खान, बस्न समस्या हुदा भोट मागे जस्तै नेताहरु घर घरमा खालि हात आएर नमस्कार गर्दै आश्वासन मात्र बाडेपछि सतिया आक्रोषित छिन्।
‘नेताहरु चुनावको बेला भोट माग्न चुलो नजिक आएर बस्थे, दिनमा दुइचोटी नमस्कार गर्थै तर अहिले घरमा पानी पस्दा कोहि नआएको जनकपुरधाम धर्मवानटोल मुसहर बस्तीकी देवसुन्दर सदाले बताइन्।
‘हामी भोकै बसेका छौँ तर हामीमाथि कसैको नजर परेको छैन, देवसुन्दर सादले भनिन,‘ भोटको बेला मात्र घरमा आउने नेताहरु अब घरमा आए भने झाडु लिएर स्वागत गरेर लखेट छौ।’
अबिरल वर्षापछि डुबानमा परेको जनकपुरधाम उपमहानगरपालिका–१ धर्मवान टोलका स्थानीयहरु १ सातापछि पनि राहत समाग्री नपाएपछि मुसहर बस्ती राज्यको व्यवहारसँग आक्रोसित छ।
शनिवार अनुगमनमा पुगेका प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिले १५ जनालाई राहत बाँड्न लाग्दा स्थानीयहरु आक्रोसित भएका थिए। राहत वितरण गर्न पुगेका समितिका सदस्यहरुलाई स्थानीहरुले गालीगलौज गर्दै चुनावको बेला खुट्टा ढोग्न पुग्ने नेताहरु आपत विपतको बेला कुनै राहत नदिएको आरोप लगाए।
बाढीले घरको अन्न बगाएर समस्या मा रहेको मुसहर समुदाय खेतमा गएर धान रोप्ने बेर्ना बगाएका कारण राती अधिकांसको चुलो बल्दैन। भोक भोकै सुत्ने पिडाले जनकपुरको धर्मवानटोलका मुसहर राहत पाउने आसमा छन्।
धर्मवान टोलमा करिब ६० घरपरिवार बाढीबाट विस्थापित भएका छन्। न त कसैको घर बस्ने लायक छ नत खानेकुरा नै छ। बच्चाहरु विस्कुट चाउचाउ खाएर दिन काटछन्। राहतका नाउमा करिब १५ घर परिवारले मात्र केही खाद्यन्न समाग्री पाएका छन्।
‘हामी कस्तो अवस्थामा छौँ। मर्यौ कि बाँच्यौ वडाध्यक्ष, मेयरले हेर्न समेत आएका छैनन्,’ स्थानीय सविता सदाले भनिन्, ‘के १५ वटा घरको भोटले मात्र वडाध्यक्ष र मेयर बनेका छन्। भोट खसाल्ने बेला मात्र हाम्रो याद आउँछ, उनले भने।
जिल्ला विपद व्यवस्थापन समिती धनुषाका अनुसार जिल्लामा बाढी तथा डुबानबाट ११ हजार घर विस्थापित भएका छन्। तर अहिलेसम्म मात्र करिब ३ हजार पीडित व्यक्तिसम्म राहत पुग्न सकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेँलले बताए।
जिल्ला विपद् व्यवस्थानका लागि छुट्याइएको ७० लाख रुपैँयामध्ये अहिलेसम्म करिब १५ लाख रकम खर्च भएको उनले बताए। ‘विस्थापितहरुलाई पुर्नस्थापनकालािग, घर बनाउन बाँकी रकम हामी खर्च गर्छौँ,’उनले भने।