गत विवाह पञ्चमीमा जनकपुरको जानकी मन्दिर अगाडि एक बालिका थिइन् । विवाहपञ्मीको २ दिन बितिसकेको थियो । तर, करिब ४ वर्षीया बालिकालाई हजारौँ भीडले देखेर बेवास्ता गर्दै हिँडे ।
जानकी चोकका पसलेहरु पनि बालिकालाई २ दिन लगातर चोकमा एक्लै बसेको देखे तर वास्ता भने गरेनन् । २ दिनपछि साँझ करिब ६ बजे ती बालिकामाथि स्थानीय किसन मण्डलको आँखा पर्यो । बालिकालाई चोकमा एक्लै देखिरहेको भनेर पसलेहरुले भनेका थिए, किसनलाई । नयाँ कपडा लगाएर एक्लै बसेरहेकी बालिकाको पीडा किसनले भने हेर्न सकेनन् । कारण थियो, किसनलाई बहिनी नहुनु । किसनको बुबालाई पनि छोरी थिएनन् ।
२४ वर्षीय किसनका २ भाइ मात्र छन् । उनका दाइका पनि २ छोरा मात्र छन् । ती बालिकालाई पटक-पटक वान्ता आइरहेको थियो । नाम, ठेगानासमेत भन्न नसक्ने ती बालिकाले आफ्नो फुपाजुले छाडेर गएको भनेर बताएको किसनले बताए । ‘बालिकाले अम्मी, अब्बालगायत शब्द बोल्ने गरेकी छन्, उनी मुस्लिम परिवारकी हुन्,’ उनले भने ।
बालिकाले बिस्कुट, चाउचाउ खाएपछि 'फुड प्वाइजनिङ' भएको थियो ।
उनी र उनका साथीहरु रोशन साह र मुजिबुल राइनले बच्चालाई सबैभन्दा पहिले जनकपुर अञ्चल अस्पताल पुर्याए । बच्चाको रेखेदेख गर्न रातभर उनीहरु अस्पतालमै बसे । उपचारपछि बच्चालाई व्यवस्थित ठाउँमा पुर्याउनुपर्छ भनेर जानकी प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगे । तर त्यहाँबाट बच्चालाई केही दिन आफ्नै जिम्मामा राख्नुस् त्यसपछि केही गरौँला भन्ने जवाफ आएपछि फेरी बच्चालाई लिएर घर फर्किए ।
किसनले भने, ‘दुई-चार दिन बित्यो तर प्रशासनबाट केही पहल भएन, हामीलाई बच्चालाई जसरी पनि उनको अभिभावकलाई जिम्मा लगाउने चिन्ता बढी थियो, तर कहीँ कतैबाट त्यसका लागि सहयोग भएन ।’
प्रशासनबाट कुनै पहल हुने नदेखेपछि पत्रकार शैलेन्द्र क्रान्तिको पहलमा जनकपुरमै रहेको अनाथ बच्चाहरुलाई पालन-पोषण गर्ने संस्था सन्त कविर बाल वात्सल्य आश्रममा किसनसहित युवाहरु पुगे । तर आश्रम आफैं दयनीय अवस्थामा रहेकाले बालिकालाई आश्रममा पाल्न नसक्ने आश्रमका सञ्चालक सन्त सत्यनरायण आलोकले जवाफ दिएको किसनले बताए । किसनले बाबाको तर्फबाट यस्तो जवाफ पाएपछि त्यो बच्चालाई आफ्नै घरमा राखेर पालन-पोषण गर्ने निधो गरे ।
दुई-चार दिनका लागि मात्रै घरमा राख्ने सोच बनाएका किसनलाई ती बालिकाबिना घरै खल्लो जस्तो लाग्छ । आफ्नो बुबा आमाको नाम नबताउने ती बालिकाको किसनले नामकरण पनि गरेका छन् । उनले बालिकाको नाउँ वर्षा राखेका छन् । किसनको आफ्नै ३ वर्षीय भतिज पनि छन्, रिहान मण्डल । रिहान र वर्षासँगै हरेक समय खेल्छन् । रिहान र वर्षा बीचको रमाइलो देखेर उनको घरका सदस्यहरु पनि रमाइलो गर्छन् । तर किसनलाई अहिले पनि वर्षाको भविष्यको चिन्ता छ । वर्षालाई लिन धेरै गैर-सरकारी संस्था आए, धेरै नि:सन्तान अभिभावकहरु पनि आए तर उनले कसैको जिम्मा लगाएनन् । किसनले भने, ‘उनीहरुको जिम्मा लगाएर वर्षाको भविष्यसँग खेलबाड गर्न सक्दिनँ ।’ उनलाई अहिले वर्षालाई पढाउनु प्रमुख जिम्मेवारी छ । 'उसको सुनौलो भविष्यको सपना देखिरहेको छु त्यसै कहाँ कसैलाई दिन सक्छु,' किसनले भने ।
वर्षा मुस्लिम परिवार रहे पनि किसनको परिवारलाई कुनै अफ्ठयारो छैन । ‘धर्म जातले हामीलाई केही फरक पर्दैन, घरमा कोही छोरी थिएनन् छोरी आएपछि अहिले परिवारमा खुसीयाली ल्याएको छ ।’