मोरङको पथरीशनिश्चरे नगरपालिका १०, शिविर डाँडामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे.१च ५३९१ नम्बरको भ्यान ठोक्किएको छ । पूर्व-पश्चिम राजमार्ग खण्डमा बिहीबार भएको दुर्घटनामा २ को मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
१ जनाको घटनास्थलमै र बसका सह-चालक कानेपोखरी गाउँपालिका ३ का टीकाराम थापालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएकाको परिचय खुलेको छैन । थापाको शव परीक्षणका लागि विराटनरस्थित कोसी अस्पतालमा राखिएको छ । अर्को शव भने मंगलबारे अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये मोरङको कानेपोखरी ३ की ६० वर्षीया दुर्गादेवी बस्नेत र कानेपोखरी ४ की ५० वर्षीया खिनमाया लिम्बूको अवस्था चिन्ताजनक छ ।
बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो । भ्यानसँग ठोक्किएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । कानेपोखरी ४ का ३५ वर्षीय बस चालक कुलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।