कमैया प्रथा मुक्त भएको आज १९ वर्ष भएको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैया प्रथा मुक्त भएको घोषणा गरेको थियो । कमैया प्रथा मुक्त भएको दिनको सम्झनामा थारु बाहुल्यता रहेका जिल्लामा विशेष कार्यक्रमको आयोजना गरिएको छ । यसैगरी काठमाडौंमा पनि विविध कार्यक्रम गरिएको छ ।
सरकारले मुक्त घोषणा गरेको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरे पनि पश्चिम नेपालका कैलाली र बर्दियामा अझै मुक्त कमैयाको पुनःस्थापनाको काम सकिएको छैन । तर, दाङ, बाँके, सुर्खेत र कञ्चनपुरमा भने पुनःस्थापनाको काम सकिएको छ । कैलाली र बर्दियामा यही आर्थिक वर्षभित्रै पुनः स्थापनको काम सक्ने गरी काम भइरहेको कमैया मुक्तिका क्षेत्रमा कार्यरत संस्थाहरुको दाबी छ । मुक्त कमैया क्षेत्रमा काम गर्ने कमैया महिला जागरण समाजका अनुसार कैलालीमा ४ सय घरपरिवारको पुनःस्थापनाको काम बाँकी छ । त्यस्तै, बर्दियामा ३ सय घरपरिवारको पुनःस्थापना र ९ सय परिवारलाई सट्टा भर्ना गर्न बाँकी छ ।
अहिले स्थानीय तह रहेकाले कमैयाको समस्या समाधानका लागि स्थानीय सरकारलाई नै जिम्मा दिनुपर्नेमा बर्दिया राजापुर नगरपालिका १० का वडाध्यक्ष दयाशंकर थारुको राय छ । उनी भन्छन्, ‘अहिले पनि कमैयाका समस्याहरु समाधानका लागि हामी स्थानीय सरकारबाट पहल गर्ने तयारीमा छौं तर त्यसका लागि सरकारले हामीलाई जिम्मा दिनुपर्छ ।’ बर्दियामा कमैयाको लगत संकलन गर्दा छुटेकालाई सहभागी गराउने विषयमा स्थानीय तहबाटै पनि तथ्यांक संकलन गरी समस्या समाधान गर्न पहल आवश्यक रहेको उनी बताउँछन् ।
सरकारले यसअघि प्रतिबद्धता गरेको १ लाख रुपैयाँ, ३५ क्युविक फिट काठसमेत आफूहरूले नपाएको कमैयाहरुको गुनासो छ ।