बेनीघाट रोराङ गाउँपालिका २, ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग गएरातिको बाढीले बगाएको छ ।
ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग ३ दिनदेखिको वर्षाले खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजंग थापाले जानकारी दिए । राति आएको बाढीका कारण ५ मजदुर बाढीमा फसेका छन् ।
दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् । खोलामा फसेका मजदुरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन । ताल्ती जाने बाटो मलेखुनजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रातभरि परेको वर्षाले खोलामा फसेका मजदुरको स्थानीय बासिन्दा र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ ।
बाढीले निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आकलन गर्न सकिएको छैन । मानवीय क्षति भएको छैन । १५ अर्ब रुपैयाँको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले उद्योग निर्माण आरम्भ गरेको ४ महिना मात्र भएको छ । ९ महिनामा निर्माण पूरा गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको थियो । -रासस