कुवेतमा आगलागीमा परि तीनजना नेपाली कामदारको मृत्यु भएको छ। असार २६ गते राति १० बजे कुवेतको महाबुल्लास्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागिमा परी एक पुरुष र दुई महिलाको मृत्यु भएको हो।
आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको अगलागीमा परी सर्लाहीका २९ बर्षीय बिजय बैंठा, नेपालको घर ठेगाना पत्ता लाग्न बाँकी अप्सरा कामी तथा गौरी दर्जीको मृत्यु भएको हो। नेपाली राजदुताबास कुवेतका द्धितीय सचिब ज्ञानबहादुर मगरले आगलागीमा तीनजना नेपाली कामदारको निधन भएको पुष्टि गरे।
राहदानी नं ०६१६३१८१ का बिजय बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत रहेको बिबरण प्राप्त भए पनि घरेलु महिला कामदारका रुपमा काम गर्दै गरेका मृतक अप्सरा कामी तथा गौरी दर्जीको पुर्ण बिबरण भने आउन बाँकी छ। सो घटनामा पुरी थप केही नेपाली घाइते भएको र उनीहरुलाई कुवेतको आदान अस्पतालमा राखिएको प्रारम्भिक जानकारी आएको छ।
कुवेतको सम्बन्धित सरकारी निकायहरु र मृतक तथा घाइते काम गर्ने कम्पनी वा स्पोन्सरहरुसंग समन्वय गरी सम्पुर्ण कानुनी प्रकृया, घाइतेहरुलाइ उपचार तथा मृतकले पाउने बिमा रकम सम्बन्धित परिवारसंग सम्पर्क गरी दाबी गर्नेतर्फ नेपाली दुताबासले प्रकृया अघि बढाएको छ।