पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो हराएरको नवजात शिशु स्याङ्जामा भेटिएको छ । नवजात शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बच्चा चोरेर फरार गल्याङ नगरपालिका ५ मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको हो । प्राधिकरणमा ज्यालादारीमा काम गर्ने पाण्डेले शुक्रबार दिउँसो ३ बजे तानसेन ९, मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार भएकी थिइन् ।
नियन्त्रणपछि नवजात शिशु र चोरी गर्ने पाण्डे दुवैलाई पाल्पा ल्याइएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी पाण्डेले शु्क्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।
प्रहरीले बच्चा हराउनेबित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटासहितको टोलीले महिला र बच्चालाई नियन्त्रणम लिएको हो । पाण्डेले चोरेर स्याङ्जा पुर्याएको नवजात शिशुको अवस्था सामान्य छ ।
अन्दाजी ५० वर्षीया पाण्डेका यसअघि नै दुई छोरा र दुई छोरी छन् । पहिलो पतिको मृत्युपछि उनले दोस्रो विवाह गरेको खुलेको छ । दोस्रो पति पनि वैदेशिक रोजगारीमा छन् ।
उनले विदेशमा रहेका पतिलाई आफू ८ महिनाको गर्भवती भएको बताउँदै आएको तर वास्तविक रुपमा गर्भवती नभएको बुझिएको छ । उनले त्यसैले पनि बच्चा चोर्नुको कारण हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।