धनुषाको सघारा र सिरहाको बस्तीकट्टा गाउँपालिकाको बीचमा कमला नदीमा निर्माणाधीन हुलाकी सडकको पुल बनाउन खटिएका इन्जिनियरसहित ९ जना बाढीमा फँसेका छन् । उनीहरु बाढीको बीचमा रहेकाले विचल्लीमा परेका हुन् ।
उनीहरुले ज्यान जोगाइदिन याचना गरेका छन् । उनीहरुको साथमा रहेको मोबाइलबाटै आफन्त तथा जिल्लास्थित प्रहरीमा हारगुहारसमेत गरेका छन् ।
बिहीबार साँझ पुल निर्माणका लागि पुगेका इन्जिनियर जमुना यादवसहित ९ कामदारको टोली नदीको बाढीमा फँसेका हुन् ।
आफूसहित, २ चौकीदार, स्काभेटर चालकसमेत बाढीको भंगालोमा फँसेको सुपरभाइजर इन्द्र पटेलले स्पेसखबरलाई जानकारी दिए । 'नदीमा बीचमै रहेको टापुमा हामी फँसेका छौं, तीव्र गतिमा टापुको कटान भइरहेको छ,' उनले फोनमार्फत भने, 'बाढीले हामीलाई कुनै पनि बेला बगाउन सक्छ ।'
नदीमा पानीको बहाव उच्च रहेकाले डुंगाबाट उनीहरुको उद्धार सम्भव नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । 'नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले उनीहरुको ज्यान जोगाउन लगातार पहल गरिरहेको छ,' उनले भने, 'मौसम खराबी भएकाले काठमाडौंबाट हेलिकप्टर उड्न सकेको छैन ।'