होटेल तथा रेस्टुरेन्टमा कठीन अवस्थामा काममा लगाइएका ६ बालबालिकाको उद्धार गरिएको छ । कम तलबमा कठीन काममा लगाएको भन्ने उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी शुक्रबार आफन्तको जिम्मा लगाइएको छ । बालबालिकालाई काममा लगाउनेहरुलाई कारवाही प्रक्रिया थालिएको श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख गणेशप्रसाद श्रेष्ठले बताए ।
मनिपाल मेडिकल कलेज, फूलबारी आसपासका होटेल रेस्टुरेन्टबाट ५ जना र महेन्द्रपुलको होटेलबाट १ जनालाई उद्धार गरिएको छ । तीमध्ये १ बालिका र बाँकी ५ बालक छन् । ५ बालकमध्ये पनि १ जना भारतको रक्सौलका रहेको कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठले जानकारी दिए । भाँडा माझ्ने लगायत कठीन कामका कारण ती बालबालिकको हात खुट्टामा घाउ समेत देखिएको थियो ।
श्रम तथा रोजगार कार्यालयको नेतृत्वमा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, शक्ति समूह, बालहितकारी परियोजना, सिविनको सहयोगमा ती बालबालिकाको उद्धार भएको हो । उद्धार गरिएका ५ जनालाई उनीहरुले पाउने पारिश्रमिक दिलाएर आफन्तको जिम्मा लगाइएको छ । भारतीय १ बालक सेल्टरबाटै भागेर पहिला काम गरेकै ठाउँमा पुगेका छन् । आफ्नै काकाको होटेलमा काम गर्ने भएकाले ती बालकका काकालाई ३० गते कार्यालयमा हाजिर हुन निर्देशन दिइएको निरीक्षक छन्दनारायणले बताए । उद्धार लगत्तै २ बालकलाई बालहितकारी परियोजना, बालिकालाई शक्ति समूह र ३ बालकलाई सिविनमा राखिएको थियो ।
उद्धार गरिएकी बालिकालाई श्रम कार्यालयले रोजगारदाताबाट ८ महिनाको पारिश्रमिक भराइदिएको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमक १३ हजार ४ सय ५० रुपैयाँ रहेकाले ८ महिनाको पारिश्रमिक १ लाख ७ हजार ६ सय रुपैयाँ होटेल सञ्चालकले श्रम कार्यालयमै ती बालिकालाई प्रदान गरेका छन् । पहिला नै ३६ हजार रुपैयाँ लगेकाले बाँकी ७१ हजार ६ सय रुपैयाँ भराइएको कार्यालय प्रमुख गणेश श्रेष्ठले बताए । सँगैको होटेलमा काम गर्ने अर्का १ बालकले समेत ८ महिनाको पारिश्रमिक १ लाख ७ हजार ६ सय रुपैयाँ बुझेका छन् ।
बाँकी ३ बालक एउटै परिवारका दाजुभाइ हुन् । पर्वत घर भएका उनीहरुले जनही १ लाख रुपैयाँ भन्दा बढी रकम बुझेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण कमाइका लागि हिँडेका उनीहरु काम खोज्ने क्रममा फूलबारी पुगेका थिए । बाबु घरमै असक्त अवस्थामा रहेका कारण छिमेकीको साथ लगाएर पठाइएको कारखाना निरीक्षक छन्दनारायणले बताए ।
बालबालिकालाई श्रममा लगाउन कानुनले निषेध गरे पनि थोरै पैसा दिए पनि पुग्ने र बढी भन्दा बढी काममा लगाउन पाइने भएकाले होटेल तथा रेस्टुरेन्टमा बालबालिकको प्रयो बढी हुने गरेको पाइएको छ । बालश्रममा लगाउनेलाई ३ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । बालश्रम नियमित र निषेधित गर्न बनेको ऐनले बालश्रमलाई निषेध गरेको छ । उक्त ऐनले होटेल रेस्टुरेन्टलाई कामदारको लागि कठीन क्षेत्र भनी परिभाषित गरेको छ । कठीन क्षेत्रमा काम लगाउनेलाई उक्त ऐनको दफा १९ अनुसार १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ ।
बालबालिकालाई श्रममा लगाउने रोजगारदातासँग पहिलो चरणको बयान लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको कारखाना निरीक्षक छन्दनारायणले बताए । बालबालिकालाई काममा लगाउनेहरुलाई असार ३० गतेको तारिख तोकिएको छ ।श्रम तथा रोजगार कार्यालयका प्रमुखले घटनाको प्रकृति अनुसार उक्त सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।