तीन दिन देखि जारी वर्षापछि बाढी र पहिरोका कारण देशभर १७ जनाको मृत्यु भएको भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ५ जना बेपत्ता छन् ।
गृह मन्त्रालयका अनुसार मोरङ, सुनसरी, महोत्तरी, पर्सा र काठमाडौंमा १–१ जना गरी ५ जना बेपत्ता छन् । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् ।
अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ६ जनासहित १६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौंको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, सर्मिला यादव र निलु यादवको मृत्यु भएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमतीसहित एक छोरा र एक छोरीको मृत्यु भएको हो । घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्दार गरेपनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन् ।
रौतहटको बृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरुको उद्दार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौंको कलंकीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरुको पनि उद्दार जारी रहेको गृह मन्त्रालयले जनाएको छ । बल्खु खोलाको पानी बस्तीमा बसेको छ । पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको जनाइएको छ ।
यसैबीच,प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकाय र जनाप्रतिनिधिलाई राहत र उद्धार कार्यमा जुट्न आग्रह गरेका छन्।